९ चैत,काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री अनिल कुमार सिन्हाले वर्तमान सरकारको सफलतामा मौसमविद् ‘पर्दा पछाडिका हिरो’ भएको बताएका छन्।
विश्व मौसम दिवसको अवसरमा आज जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री सिन्हाले फागुन २१ को निर्वाचनमा मौसमले असर गर्दैन भन्ने जानकारी उपलब्ध गराउने आधारमा देशभर एकैचरणमा निर्वाचन सम्पन्न गर्न सकिएको बताए।
मन्त्री सिन्हाले भने, “चुनाव एकै दिनमा एकै समयमा सम्पन्न हुनमा यहाँहरुको ठूलो भूमिका रहेको छ। तपाईंहरु पर्दा पछाडि रहेर सरकारलाई सहयोग गर्ने पर्दा पछाडिका हिरोहरु हुनुहुन्छ। म यहाँहरुप्रति आभारी छु।”
स्रोत साधनको कमी भए तापनि मौसमसम्बन्धी अध्ययन र जानकारी उपलब्ध गराएको भन्दै उनले मौसमविद्हरुको प्रशंसा गरे। साथै, अन्तर्राष्ट्रिय सहकार्य र अनुसन्धानलाई अघि बढाउँदै मौसम सेवालाई प्रभावकारी रूपमा आम नागरिकसम्म पुर्याउने सरकारको प्रतिबद्धता व्यक्त गरे।
मौसम पूर्वानुमान सम्बन्धी सूचना स्थानीय भाषामा पनि सार्वजनिक गर्नुपर्नेमा मन्त्री सिन्हाले जोड दिँदै विभागका कानुनी अप्ठ्यारा समाधान गर्न आफू सधैं प्रतिबद्ध रहेको बताए।

















