Logo

९ चैत,रुपन्देही । कपिलवस्तु को दक्षिणी क्षेत्रमा दुई समुदायबीच उत्पन्न विवाद तीन दिन बित्दासमेत साम्य हुन सकेको छैन। सोमबार पनि विभिन्न स्थानमा प्रदर्शन जारी रहँदा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ भने प्रशासनले निषेधाज्ञा यथावत् राखेको छ।

महाराजगन्ज स्थित वरगदा गाउँमा मन्दिर तोडफोडको विषयबाट सुरु भएको विवाद शनिबार झडपमा परिणत भएको थियो। त्यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको भिडन्तमा प्रहरीको गोली लागेर चार जना घाइते भएका थिए। घटनाको विरोधमा जारी प्रदर्शनका क्रममा सोमबार तीन जना पक्राउ परेका छन्। प्रदर्शनकारीहरूले आइतबार पनि प्रहरीले कुटपिट गरेको आरोप लगाएका छन्।

स्थानीय पत्रकार नारद कोहारका अनुसार पक्राउ पर्नेमा मनोज शुक्ला, विरेन्द्र चौधरीसुनिल तिवारी रहेका छन्।

जिल्लाका हिन्दू संगठनहरूले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ। कपिलवस्तु नगरपालिका क्षेत्रभित्रका विद्यालयहरू बन्द गरिएका छन् भने परीक्षा समेत स्थगित गरिएको छ।

यसैबीच जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले सामाजिक सञ्जालको दुरुपयोग नगर्न र संयमता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम ले विज्ञप्ति जारी गर्दै बन्द, हडताल र चक्काजामजस्ता गतिविधि नगर्न तथा विवाद समाधानका लागि संवादको बाटो रोज्न अपिल गरेका छन्।

प्रशासनले घटनाका दोषीमाथि कानुनी प्रक्रिया सुरु भइसकेको र घाइतेहरूको उपचार भइरहेको जनाएको छ। साथै, सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रमपूर्ण सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ।

यता अन्तर धार्मिक सद्भाव संघ नेपाल ले पनि घटनाप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ। संघकी अध्यक्ष चन्दा थापा ले संवाद र सहकार्यबाट समस्या समाधान गर्न तथा समाजमा शान्ति, सद्भाव र सहअस्तित्व कायम राख्न अपिल गरेकी छन्।

संघले अपुष्ट र भ्रामक सूचना नफैलाउन आग्रह गर्दै यस्तो गतिविधिले परिस्थिति थप जटिल बनाउने चेतावनी दिएको छ।


सम्बन्धित समाचार