Logo

 ९ चैत,काठमाडौं । संघीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ व्यवस्थापन र पदभार सम्हाल्न तयारीमा जुटेको छ। सचिवालयले चैत ५ गते सूचनामार्फत निर्वाचित सांसदहरुलाई शपथ कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेको छ।

शपथ समारोह यही चैत १२ गते अपराह्न २ बजे आयोजित हुने छ। निर्धारित समयभन्दा दुई घण्टा अघि सांसदहरूले औपचारिक पोसाक वा सांस्कृतिक पहिचानको पोसाकमा उपस्थित हुन सचिवालयले अनुरोध गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसीले चैत ११ गते शपथ लिनेछन्। त्यसपछि उनले नवनिर्वाचित सांसदलाई शपथ दिलाउने कार्य गर्नेछन्।

संविधानको धारा ८८ अनुसार प्रत्येक सदस्यले पहिलो पटक सदन वा समितिको बैठकमा भाग लिनुअघि शपथ लिनुपर्छ। धारा ९१ (५) अनुसार सभामुख र उपसभामुख रिक्त भएमा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ।

शपथपछि सांसदलाई प्रतिनिधिसभा सदस्यको प्रतीक चिह्न, संविधान, संसद् नियमावली, पदाधिकारी तथा सेवा सुविधासम्बन्धी सामग्री उपलब्ध गराइनेछ।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, “सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा शपथ र प्रारम्भिक अधिवेशनको तयारी भइरहेको छ। हलभित्रको पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम अन्तिम चरणमा छ।”

निर्वाचनपछि संसदीय दल र सांसद सङ्ख्या अनुसार सचिवालयले संसदीय दलको कार्यालय पुनःव्यवस्थापन गरेको छ। निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी १८२, नेपाली कांग्रेस ३८, नेकपा (एमाले) २५, नेकपा १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ र स्वतन्त्र सांसद १ जना निर्वाचित भएका छन्।

प्रवक्ता गिरीले भने, “निर्माणाधीन नयाँ संसद् भवन सम्पन्न भएपछि सबै दलका कार्यालय र सांसदको ‘चेम्बर’ सोही भवनमा व्यवस्थित हुनेछन्।”


सम्बन्धित समाचार