Logo

९ चैत,काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूका लागि सिट सङ्ख्याका आधारमा संसदीय कार्यालय व्यवस्थापन गरेको छ।

नयाँ संसद् भवनको निर्माण कार्य पूरा नभएकोले हालकै संसद् सचिवालय परिसरमै दलहरूको कार्यालय व्यवस्था गरिएको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि दलहरूको सिट सङ्ख्या अनुसार कार्यालयको व्यवस्थापन गरिएको हो। कांग्रेस र एमालेलाई साबिककै संसदीय दलको कार्यालयमा राखिएको छ भने यसअघि नेकपाले प्रयोग गर्दै आएको कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई उपलब्ध गराइएको छ।

त्यस्तै, यसअघि रास्वपाले प्रयोग गरेको कार्यालयमा नेकपा, श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई व्यवस्थापन गरिएको प्रवक्ता गिरीले बताए।

उनले भने, “यो अल्पकालीन व्यवस्थापन हो। नयाँ संसद् भवन निर्माण सम्पन्न भएपछि त्यहीँबाट संसद् र संसदीय गतिविधि सञ्चालन हुनेछ।”

प्रतिनिधिसभाबाट निर्वाचित सदस्यहरूको पद तथा गोपनीयताको शपथ नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा हुनेछ। संसद् सचिवालयका अनुसार सांसदहरूको शपथ चैत १२ गते हुने तय गरिएको छ।


सम्बन्धित समाचार