१० चैत,काठमाडौं । जेनजी मुभमेन्ट नेपाल ले जेनजी आन्दोलनसम्बन्धी छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ।
मंगलबार जारी प्रेस वक्तव्यमा आन्दोलनले प्रतिवेदन सार्वजनिक नगर्नु पारदर्शिता, उत्तरदायित्व र सुशासनका सिद्धान्तविपरीत भएको आरोप लगाएको छ। “देशको राजनीतिक नयाँ दिशाबोध गर्ने विश्वास गरिएको उक्त प्रतिवेदन लुकाएर राख्नु स्वीकार्य हुन सक्दैन,” वक्तव्यमा उल्लेख गरिएको छ।
आन्दोलनले सरकारमाथि राज्यसत्ताको दुरुपयोग भएको आरोप लगाउँदै सत्यतथ्य सार्वजनिक गर्ने नागरिकको अधिकारबाट वञ्चित गरिएको दाबी गरेको छ।
जेनजी मुभमेन्ट नेपालले सरकारलाई यही चैत १३ गतेभित्र प्रतिवेदन सार्वजनिक गर्न अल्टिमेटम दिएको छ। तोकिएको समयसीमाभित्र माग पूरा नभए शीतल निवास घेराउसहित सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ।
वक्तव्यमा आन्दोलनका क्रममा उत्पन्न हुने अवस्थाको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने उल्लेख गरिएको छ। साथै लोकतान्त्रिक मूल्य–मान्यता र जनअधिकारको रक्षा गर्न आन्दोलन निरन्तर जारी रहने र आवश्यक परे थप कडा कदम चालिने चेतावनी पनि दिइएको छ।

















