११ चैत, वीरगञ्ज । श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व चैती छठ आज (बुधबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै विधिवत् रूपमा समापन भएको छ । चार दिनसम्म अत्यन्त नियम, निष्ठा र संयमका साथ मनाइने यस पर्वको अन्तिम दिन आज तराई-मधेससहित मुलुकका विभिन्न भागमा उल्लासमय वातावरणमा समापन गरियो ।
मंगलबार साँझ अस्ताउँदो सूर्यदेव अर्थात् दिनानाथलाई ‘सन्ध्या अर्घ्य’ दिएका बर्तालुहरूले आज बिहान सूर्योदयको समयमा जलाशयमा उभिएर दोस्रो अर्घ्य (भोरका अर्घ्य) दिएका हुन्। वीरगञ्जका ऐतिहासिक घडिअर्वा पोखरी, मूर्ली पोखरी, नगवा पोखरी, रानीघाट र स्वीमिङ्ग पुल लगायतका जलाशयहरूमा बिहानैदेखि श्रद्धालुहरूको ठूलो घुइँचो लागेको थियो । यी क्षेत्रहरूलाई दुलही झैँ सिँगारिएकाले वीरगञ्जको वातावरण निकै भक्तिमय र उत्सवमय देखिएको थियो ।
पर्वको पहिलो दिन ‘नहाय–खाय’ बाट शुद्धताको प्रक्रिया सुरु गरेका बर्तालुहरूले दोस्रो दिन ‘खरना’ विधि सम्पन्न गरेका थिए । तेस्रो दिन अर्थात् मंगलबार निराहार उपवास बसी साँझ जलाशयमा प्रवेश गरी छठी माताको ध्यान गर्दै ठकुवा, भुसुवा, मुला, उखु, भन्टा, केरा र नरिवल जस्ता सामग्रीहरू प्रसादका रूपमा चढाएका थिए। रातभर जलाशय किनारमा जाग्राम बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि बर्तालुहरूले व्रत तोडेका छन् ।
धार्मिक जनविश्वास अनुसार चैती छठ गर्नाले मनोकाङ्क्षा पूरा हुने र विशेषगरी छालाजन्य रोगहरूबाट मुक्ति मिल्ने विश्वास गरिन्छ । सामान्यतया कात्तिकमा मनाइने छठको तुलनामा चैती छठ मनाउनेहरूको संख्या केही कम हुने भए तापनि पछिल्ला वर्षहरूमा यसको आकर्षण र सहभागिता उल्लेख्य रूपमा बढ्दै गएको पाइएको छ ।

















