Logo

 ११ चैत,काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थामा पैसा राख्ने र ऋण लिने बीचको दूरी बढ्दै गएको छ। बैंकिङ प्रणालीमा निक्षेपकर्ताको संख्या बढ्दै गए पनि कर्जा लिनेहरू अपेक्षाअनुसार बढेका छैनन्।

नेपाल राष्ट्र बैंक का तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको सात महिनासम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप खाताको संख्या ६ करोड १८ लाख ५१ हजार २३० पुगेको छ। गत वर्षको सोही अवधिमा यो संख्या ५ करोड ८१ लाख ७२ हजार ७ सय थियो।

तर कर्जा खाताको संख्या समान अवधिमा केवल २० लाख ३४ हजार ९४६ रहेको छ, जसमा वृद्धि भए पनि निक्षेप खातासँगको खाडल धेरै व्यापक छ।

निक्षेप र कर्जा खाताको सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंक ले ओगटेको छ। वाणिज्य बैंकमा ५ करोड ३० लाख निक्षेप खाता हुँदा कर्जा खाता १६ लाख ९० हजार भन्दा बढी रहेको छ।

यद्यपि, विकास बैंकहरूमा कर्जा खाता घटेको देखिएको छ। गत वर्षको माघमा विकास बैंकमा कर्जा खाताको संख्या २ लाख ७४ हजार रहेकोमा यस वर्ष माघसम्म २ लाख ६७ हजारमा झरेको छ।

विश्लेषकहरूका अनुसार निक्षेप र कर्जा खाताबीचको बढ्दो खाडलले बैंकिङ प्रणालीमा ऋण वितरणको गतिशीलता र वित्तीय पहुँचका पक्षमा चुनौती निम्त्याउन सक्छ।


सम्बन्धित समाचार
भर्खरै