Logo

११ चैत,काठमाडौं ।प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसी ले निर्वाचनमार्फत जनताबाट व्यक्त असीमित चाहना र आकांक्षालाई संसद् र सरकारले प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

आजै रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका केसीले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदबहालीपश्चात् सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मुलुकको समग्र हितका लागि पक्ष–प्रतिपक्ष सबै एकजुट हुनुपर्ने बताए।

उनले गरिबी, रोग, भोक र कुशासनलाई साझा शत्रुका रूपमा उल्लेख गर्दै ती समस्याको समाधानका लागि संसद्ले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। “जनताबाट प्राप्त असीमित जनादेशको रक्षा गर्नु संसद् र सरकारको प्रमुख कर्तव्य हो,” उनले भने।

केसीले आफूले सभामुखको जिम्मेवारी निष्पक्ष र पारदर्शी ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। संविधान, संसद्को नियमावली तथा संसदीय अभ्यासअनुसार निर्णय (रुलिङ) गर्ने र सबै सांसदको विशेषाधिकारको रक्षा गर्ने उनको भनाइ छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार गठन र संसद् अधिवेशन आह्वानको तयारी भइरहेका बेला ज्येष्ठ सदस्यको हैसियतमा केसीले सभामुखको जिम्मेवारी सम्हालेका हुन्।


सम्बन्धित समाचार