११ चैत,काठमाडौं । लगातार पाँच कारोबार दिन उकालो लागेको शेयर बजारमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक आज २४.४५ अङ्कले घटेर २,९३५.९४ विन्दुमा झरेको छ।
आज उत्पादन तथा प्रशोधन र व्यापार समूह बाहेक अधिकांश समूहको शेयर घटेको छ। विशेषगरी विकास बैंक र फाइनान्स समूहका सूचक २ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्। कारोबार भएका कम्पनीमध्ये २१३ वटाको शेयर मूल्य घट्दा ४५ वटाको बढेको छ भने ७ वटामा कुनै परिवर्तन भएन।
आज अभियान लघुवित्त को शेयर सबैभन्दा धेरै ७.७४ प्रतिशतले घटेको छ भने सालपा विकास बैंक को शेयर ७ प्रतिशतले घटेको छ।
यता बजार समग्रमा घटे पनि केही कम्पनीका शेयरमा उल्लेख्य वृद्धि देखिएको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन का शेयर १० प्रतिशतले बढेका छन्।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन १४ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३४५ कम्पनीका ३ करोड ५८ लाख कित्ता शेयर १५ अर्ब ९ करोड रुपैयाँमा किनबेच भएका छन्।


















