Logo

१२ चैत्र, काठमाडौं । नेपालको संसदीय राजनीतिमा एउटा अभूतपूर्व र ऐतिहासिक अध्यायको सुरुवात गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई आफ्नो संसदीय दलको नेता चयन गर्ने अन्तिम तयारी पूरा गरेको छ ।

फागुन २१ को निर्वाचनमा प्रतिनिधिसभाका २७५ सिटमध्ये प्रत्यक्ष र समानुपातिक गरी कुल १८२ सिटसहित झण्डै दुई तिहाइको विशाल बहुमत प्राप्त गरेको रास्वपाले बालेनलाई नै प्रधानमन्त्रीको रूपमा अघि सारेर जनताको अनुमोदन प्राप्त गरेको थियो । आज दिउँसो २ बजे नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणलगत्तै वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने केन्द्रीय समितिको बैठकले विधान संशोधन गरी बालेनका लागि संसदीय दलको नेता बन्ने वैधानिक बाटो खोल्नेछ ।

विधान परिमार्जन पश्चात् बस्ने संसदीय दलको बैठकले उनलाई औपचारिक रूपमा नेता चयन गरी सोको जानकारी आजै राष्ट्रपति कार्यालय पठाउने तयारी गरेको छ ।

मुलुकको कार्यकारी प्रमुखका रूपमा बालेनको उदयलाई निकै उत्साहका साथ हेरिएको छ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) बमोजिम बहुमत प्राप्त दलको नेताको हैसियतमा उनलाई भोलि शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गर्ने कार्यक्रम तय भएको छ। निर्वाचनको नतिजाले स्थापित पुराना दलहरूलाई निकै पछाडि छाडिदिएको वर्तमान अवस्थामा, रास्वपाको यो निर्णयले नेपालको प्रशासनिक र राजनीतिक संरचनामा व्यापक परिवर्तन आउने संकेत गरेको छ ।

प्रधानमन्त्रीका रूपमा बालेनले भोलि शुक्रबार मध्याह्न १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिने साइत निश्चित भइसकेको छ, जसले नेपाली राजनीतिमा एउटा नयाँ युगको सूत्रपात गर्ने विश्वास गरिएको छ ।


सम्बन्धित समाचार