१२ चैत्र, काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले औपचारिक शपथ ग्रहणअघि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जनताले सुम्पिएको भारी जनादेश र भरोसाप्रति आफूहरू पूर्णतः जिम्मेवार रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले यस पटकको निर्वाचनको नतिजालाई जनताको आशा र परिवर्तनको चाहनाका रूपमा व्याख्या गर्दै सोही अनुसारको भूमिका निर्वाह गर्ने अठोट लिएका छन् । रास्वपा सांसद दीपक बोहराले रवि लामिछाने र बालेन शाहको नेतृत्वले केही गर्छ भन्ने जनविश्वासलाई कुनै पनि हालतमा मर्न नदिने बताउनुभयो भने केपी खनालले जवाफदेहिता, पारदर्शिता र इमानदारीलाई नै आफ्नो मूल मन्त्र बनाउने उल्लेख गर्नुभयो। त्यस्तै, सांसद निशा डाँगीले काँधमा अझ ठूलो जिम्मेवारी थपिएको महसुस भएको सुनाउनुभयो भने रजनी श्रेष्ठले खेलकुद र खेलाडीको हकहितका लागि सदनमा आवाज बुलन्द पार्ने योजना सुनाउनुभयो ।
पार्टीगत रूपमा फरक विचार राख्ने भए पनि देशको आर्थिक र सुशासनको पक्षमा भने सबै दलका सांसदहरूले समान स्वर व्यक्त गरेका छन् । नेकपा एमालेका सांसद क्षितिज थेबेले मुलुकको अर्थतन्त्रलाई दरिलो बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले सुशासन र विधिको शासनका लागि संसद्मा निरन्तर खबरदारी जारी राख्ने स्पष्ट पार्नुभयो ।
प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिटसहित संसद्मा झण्डै दुई तिहाइको शक्ति आर्जन गरेको रास्वपा र अन्य दलका यी नवनिर्वाचित प्रतिनिधिहरूको उत्साहले आगामी संसदीय यात्रा निकै क्रियाशील हुने संकेत गरेको छ । जनताका सपना र अपेक्षाहरूलाई नीति निर्माणको तहमा पुऱ्याउनु नै आफ्नो मुख्य लक्ष्य रहेको उनीहरूको सामूहिक ठम्याइ छ ।

















