१२ चैत,काठमाडौं । रास्वपा सांसद रहबर अन्सारी आज संसद् भवनमा स्कुल पोशाकमा उपस्थित भई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनी निलो सर्ट–पाइन्ट लगाएर र पिठ्यूँमा झोला राखेर संसद् प्रवेश गर्दा सञ्चारकर्मीहरूको ध्यान खिचिएका थिए।
सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अन्सारीले भने, “३५ वर्षअघि बुवाले मलाई हात समातेर विद्यालय लगाउनुभएको थियो। आज मेरो ७४ वर्षका बुवाले मलाई संघीय संसद भवनमा ल्याउनुभएको छ। उहाँका लागि व्यक्तिगत गर्वको विषय होला। तर यसले सम्पूर्ण अभिभावकलाई सम्मान गर्ने अवसर दिएको छ। हाम्रो सफलता र समृद्धि विद्यालयबाटै सुरु हुन्छ।”
सांसद अन्सारीले थप भने, “मैले बोकेको झोला विद्यार्थीहरूको झोला हो, ज्ञानको झोला हो। आजको खुशीको अवसरमा सबैभन्दा ठूलो योगदान बुवा र शिक्षकहरूको छ भन्ने सन्देश दिन चाहन्छु।”
रहबर अन्सारी पहिले नेकपा सदस्य थिए र हाल रास्वपा प्रवेश गरेका हुन्। उनी प्रत्यक्ष निर्वाचनबाट बारा–४ क्षेत्रबाट निर्वाचित भएका थिए।

















