Logo

१२ चैत, काठमाडौं । सिंहदरबारको भव्य हलमा सांसदको पद तथा गोपनीयताको शपथ लिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १८२ सांसदहरू उत्सव मनाउन होइन, सिधै वनस्थलीस्थित केन्द्रीय कार्यालयतर्फ दौडिएका छन् ।

शपथको माला सेलाउन नपाउँदै रास्वपाको केन्द्रीय समिति बैठक सुरु हुनुले यो नयाँ शक्ति सत्ताको बागडोर सम्हाल्न कति आतुर र तयारीमा छ भन्ने स्पष्ट पारेको छ । यो बैठक केवल गफगाफका लागि होइन, बरु भोलि शुक्रबार गठन हुने नयाँ सरकारको कमाण्डर र संसदीय दलको नेता चयन गर्ने अन्तिम गृहकार्यका लागि डाकिएको हो ।

बैठकको मुख्य आकर्षण वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव रहेको छ, जसलाई रास्वपाले चुनावी अभियानमै भावी प्रधानमन्त्रीको रूपमा ‘प्रोजेक्ट’ गरेको थियो। केन्द्रीय समितिले बालेनको नाममा औपचारिक मोहोर लगाएलगत्तै संसदीय दलको बैठक बस्ने र त्यसले सरकार गठनको प्रक्रियालाई वैधानिकता दिने तयारी छ। रास्वपाले शपथको केही घण्टाभित्रै प्रधानमन्त्रीको शपथ कार्यक्रमको व्यवस्था मिलाउन मुख्य सचिवलाई समेत पत्राचार गरिसकेको छ, जसले पुरानो राजनीतिक कार्यशैलीलाई चुनौती दिँदै ‘फास्ट ट्र्याक’ मा काम गर्ने संकेत गरेको छ।

लामो समयदेखि पुरानो राजनीतिक सिन्डिकेट र बेथितिविरुद्ध विद्रोह गरेर झण्डै दुई तिहाइको शक्तिशाली म्यान्डेट पाएको यो नयाँ शक्तिले अब संसद् र सरकार दुवैको नेतृत्व गर्दा नागरिकहरूले भने उनीहरूको एक्सन माथि मिहिन दिनगन्ती सुरु गरिसकेका छन् ।

बालेन शाहलाई नेता छान्ने यो निर्णयले केवल रास्वपाको आन्तरिक शक्ति सन्तुलन मात्र होइन, बरु आगामी पाँच वर्षको देशको राजनीतिक र आर्थिक दिशा समेत तय गर्नेछ । शपथको हलबाट सिधै कार्यतालिका बनाउन जुटेका यी नयाँ सांसदहरूले भोलिदेखि सिंहदरबारको पुरानो ढर्रालाई साच्चै बदल्छन् या सत्ताको रन्कोमा आफैँ हराउँछन्, त्यो हेर्न अब धेरै कुर्नु पर्ने छैन ।


सम्बन्धित समाचार