१३ चैत्र, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो मन्त्रिमण्डल विस्तारका क्रममा एउटा अप्रत्याशित र बोल्ड निर्णय गर्दै प्रस्तावित मन्त्रीहरूको सूचीबाट अमरेशकुमार सिंहको नाम हटाएका छन् ।
सुरुमा उद्योग मन्त्रालयको जिम्मेवारी दिने चर्चा गरिए तापनि अन्तिम समयमा बालेनले सिंहलाई आउट गर्दै उक्त मन्त्रालयको लगाम आफ्नै हातमा राख्ने निर्णय गरेका हुन् । यससँगै प्रधानमन्त्री बालेनले देशको सुरक्षा र आर्थिक मेरुदण्ड मानिने रक्षा र उद्योग दुवै मन्त्रालय आफैँसँग राखेर शासनसत्तामा आफ्नो दह्रो पकड रहने स्पष्ट संकेत दिएका छन् ।
सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापालाई पराजित गर्दै संसद् छिरेका अमरेशकुमार सिंहका लागि यो घटना एउटा ठुलो राजनीतिक धक्का मानिएको छ । बालेनले सुरुवाती चरणमा सिंहलाई टोलीमा समेट्ने संकेत दिए पनि अन्तिम घडीमा उनलाई पन्छाउनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । सम्भवतः सुशासन र कार्यसम्पादनमा कुनै पनि सम्झौता नगर्ने बालेनको कडार शैलीका कारण यो फेरबदल भएको अनुमान गरिएको छ।
यस निर्णयले बालेन सरकारमा मन्त्री बन्न केवल चुनाव जित्नु वा चर्चामा आउनु मात्र पर्याप्त छैन भन्ने सन्देश प्रवाह गरेको छ। उद्योग र रक्षा जस्ता संवेदनशील मन्त्रालयहरू आफैँले सम्हाल्ने निर्णय गरेर बालेनले नीतिगत सुधार र औद्योगिक क्रान्तिको नेतृत्व सिधै प्रधानमन्त्री कार्यालयबाटै गर्ने रणनीति लिएको देखिन्छ । अब बन्ने १५ सदस्यीय मन्त्रिपरिषद्मा अमरेशको बहिर्गमन र बालेनको ूडबल पोर्टफोलियोू ले आगामी दिनको कार्यदिशा झनै आक्रामक हुने संकेत दिएको छ ।

















