Logo

१३ चैत,काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। रामचन्द्र पौडेल ले राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाहको उपस्थितिमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मन्त्रिपरिषद्मा डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरूङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त भएका छन्। त्यसैगरी सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, तथा खड्गराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुद मन्त्रालय सस्मित पोखरेल ले सम्हालेका छन् भने स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानी मन्त्रालय निशा मेहता लाई दिइएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा विक्रम तिमिल्सिना, सामान्य प्रशासन तथा भूमि व्यवस्था मन्त्रीमा प्रतिभा रावल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा सोविता गौतम नियुक्त भएका छन्।

त्यसैगरी गीता चौधरी कृषि तथा पशुपन्छी एवं वन तथा वातावरणमन्त्री, दीपक साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेका छन्।

रक्षा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शाहले हाल आफैं सम्हालेका छन्।

समारोहमा रामसहायप्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार