Logo

१४ चैत, काठमाडौँ । नवनियुक्त बालेन्द्र शाह नेतृत्वको सरकारले ‘जेनजी आन्दोलन’ दमनको आरोपमा तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्ने प्रक्रिया सुरु गरेको छ ।

मन्त्रिपरिषद्को पहिलो बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेसँगै गृह प्रशासन ‘एक्सन’मा उत्रिएको हो ।

अहिले ठुलो संख्यामा प्रहरीको विशेष टोली ‘जरुरी पक्राउ पुर्जी’ सहित भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेको छ । निवास बाहिर र वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ भने बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा तत्कालीन सरकारका प्रमुखहरूले आन्दोलन दबाउन अनावश्यक बल प्रयोग गरेको र मानवीय क्षति पुर्‍याएको भन्दै फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । नयाँ सरकारको पहिलो बैठकले सो प्रतिवेदनलाई आधार मान्दै दोषीमाथि तत्काल कानुनी कारबाही अघि बढाउने निर्णय गरेको हो ।

प्रहरी टोली पक्राउ पुर्जीसहित पुगेपछि ओली निवास वरपरको वातावरण तनावपूर्ण बनेको छ। एमालेका कार्यकर्ताहरू ठुलो संख्यामा निवास बाहिर भेला हुन थालेका छन् भने सम्भावित झडपलाई रोक्न प्रहरीले घेराबन्दी कडा पारेको छ ।

निवर्तमान सरकारका गृहमन्त्री रमेश लेखक यसअघि नै पक्राउ परिसकेको अवस्थामा एमाले अध्यक्ष ओलीमाथिको यो कारबाहीलाई राजनीतिक रूपमा अत्यन्तै गम्भीरताका साथ हेरिएको छ ।

यो घटनासँगै मुलुकको राजनीतिले नयाँ मोड लिने देखिएको छ। प्रहरीले केही बेरमै ओलीलाई नियन्त्रणमा लिने तयारी गरिरहेको बुझिएको छ ।


सम्बन्धित समाचार