Logo

 १४ चैत,काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले पक्राउ गरेपछि पार्टीले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ। कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार आज (शनिबार) बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने तय भएको हो।

जेनजी आन्दोलनका क्रममा हिंसात्मक दमन गरेको अभियोगमा लेखकलाई शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको थियो। हाल उनलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ।

उक्त घटनासँग सम्बन्धित सोही अभियोगमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिइएको हो।

पक्राउपछि ओलीलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जिल्ला प्रहरी परिसरमार्फत महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल पुर्‍याइएको छ। अस्पताल स्रोतका अनुसार उनलाई ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको छ, जहाँ जटिल स्वास्थ्य अवस्थाका बिरामीहरूको उपचार गरिन्छ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि ओलीलाई कहाँ राख्ने भन्ने निर्णय गरिने जानकारी दिएका छन्।

यस घटनाले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ भने कांग्रेसको आकस्मिक बैठकले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार