१५ फाल्गुण, काठमाडौं । गत भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आज मात्रै अदालत लगिएको हो । गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको छानबिन आयोगले सो आन्दोलनमा भएको हिंसा र क्षतिको लागि लेखकलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो। सोही प्रतिवेदनका आधारमा उनलाई शनिबार भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नयाँ सरकारको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेसँगै यो पक्राउ प्रक्रिया अघि बढेको हो । लेखकलाई हाल महाराजगञ्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ । यसैबीच, सोही घटनामा दोषी ठहर गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आजै अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ। ७६ जनाको ज्यान गएको र हजारौँ घाइते भएको उक्त आन्दोलनको घटनालाई लिएर अहिले देशभरको राजनीतिक वातावरण निकै तातिएको छ ।

















