Logo

१५ चैत, काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई आगामी जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन औपचारिक निर्देशन जारी गरेको छ ।

फागुन २१ गते सम्पन्न निर्वाचनपश्चात् चैत १२ गते पद तथा गोपनीयताको शपथ लिएका सांसदहरूलाई ६० दिनको कानुनी समयसीमाभित्र अद्यावधिक सम्पत्ति विवरण पेस गर्न सूचित गरिएको हो । सचिवालयले संसद् भवनस्थित भवन नम्बर १ को कोठा नम्बर २०७ मा रहेको सांसद सुविधा व्यवस्थापन शाखामा कार्यालय समयभित्र सिलबन्दी खाममा विवरण दर्ता गराउन भनेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को व्यवस्थाअनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोत र निस्सासहितको विवरण बुझाउनु अनिवार्य हुन्छ । यस प्रक्रियाले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको आर्थिक पारदर्शिता कायम गर्न र भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्‍याउने कानुनी लक्ष्य राखेको छ ।

तोकिएको समयभित्र विवरण नबुझाउने सार्वजनिक पदाधिकारीलाई कानुनअनुसार जरिवाना तथा अन्य विभागीय कारबाहीको समेत व्यवस्था रहेकाले सचिवालयले समयमै यस प्रक्रिया पूरा गर्न ताकेता गरेको हो ।


सम्बन्धित समाचार