Logo

१५ चैत, काठमाडौँ । केपी शर्मा ओलीरमेश लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले आइतबार दुवै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान गर्न स्वीकृति दिएका हुन्।

चैत १४ गते पक्राउ परेका ओली र लेखकलाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको थियो। उनीहरूमाथि भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा दमन गर्ने आदेश दिएको र किशोरहरूमाथि घातक हतियार प्रयोग गरी गोली चलाउन निर्देशन दिएको गम्भीर आरोप लागेको छ।

गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले उक्त घटनामा संलग्न भएको आशंकामा ओली, लेखक तथा तत्कालीन केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूमाथि फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रहरीले ‘ज्यान सम्बन्धी कसुर’ अन्तर्गत अनुसन्धान अघि बढाएको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रहरीलाई पठाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले प्रतिवेदन प्राप्त भइसकेको र त्यसकै आधारमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

आयोगले केन्द्रीय सुरक्षा समितिका सबै पदाधिकारीलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरे पनि मन्त्रिपरिषद्ले सुरक्षा निकायका उच्च अधिकारीहरूको हकमा छुट्टै समिति गठन गरी थप अध्ययन गर्ने निर्णय गरेको छ।

उक्त केन्द्रीय सुरक्षा समितिमा नेपाल प्रहरीका आईजीपी, सशस्त्र प्रहरी बलका महानिरीक्षक, गृह मन्त्रालयका सचिव तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य रहने व्यवस्था छ। ‘जेनजी’ प्रदर्शनका क्रममा भएको झडपमा ७६ जनाको ज्यान गएको थियो।


सम्बन्धित समाचार