१६ चैत, काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूले भोग्दै आएको प्रशासनिक झन्झटलाई सम्बोधन गर्दै सरकारले श्रम स्वीकृति प्रक्रियामा आमूल सुधार गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनअनुसार वैदेशिक रोजगार विभागले आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । यसअघि दैनिक निश्चित सङ्ख्यामा मात्र काम फत्ते गर्ने ‘टोकन प्रणाली’ का कारण श्रमिकहरूले महिनौँ कुर्नुपर्ने बाध्यता रहेकामा अब सो प्रणालीलाई पूर्ण रूपमा खारेज गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार आवश्यक सम्पूर्ण कागजात र प्रक्रिया पुर्याएर आवेदन दिने श्रमिकले सोही दिन श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति प्राप्त गर्नेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साहको उपस्थितिमा आइतबार बसेको उच्चस्तरीय बैठकले श्रम क्षेत्रलाई मर्यादित, सुरक्षित र प्रविधिमैत्री बनाउन यस्तो ठोस निर्णय लिएको हो । सरकारले चैत १३ गते सार्वजनिक गरेको ‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूची’ लाई तीव्रता दिने क्रममा श्रम मन्त्रालयले यो सुधारलाई प्राथमिकतामा राखेर कार्यान्वयन सुरु गरेको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले श्रमिकको हकहित संरक्षण र सेवा प्रवाहमा चुस्तता ल्याउन चालेको यो कदमलाई वैदेशिक रोजगारीमा जाने युवाहरूका लागि ठुलो राहतका रूपमा हेरिएको छ ।
मन्त्री साहले श्रम क्षेत्रका विकृति हटाउन र श्रमिकलाई राज्यको अनुभूति गराउन विभिन्न कार्ययोजना बनाएर अघि बढ्न विभागलाई स्पष्ट निर्देशन दिनुभएको छ। यससँगै अब श्रम स्वीकृतिका लागि बिचौलियाको आशा गर्नुपर्ने वा लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ।

















