१६ चैत, काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले नयाँ मोड लिएको छ, जहाँ निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले पार्टीभित्रै समानान्तर राजनीतिक गतिविधि सुरु गरेका छन् ।
विशेष महाधिवेशनपछि विभाजित बनेको कांग्रेसमा संस्थापन पक्षले संसदीय सचेतना कार्यक्रममार्फत आफ्नो पकड बलियो बनाउन खोजिरहँदा, त्यसलाई काउन्टर दिन देउवा–कोइराला समूहले आज सोमबार महाराजगञ्जको होटल स्मार्टमा नवनिर्वाचित सांसदहरूका लागि छुट्टै बधाई कार्यक्रम आयोजना गरेको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कोइरालाको उपस्थितिमा भएको यस भेलालाई पार्टीको आधिकारिक संरचना बाहिरको रणनीतिक सक्रियताका रूपमा हेरिएको छ ।
यो शक्ति प्रदर्शन बधाईमा मात्र सीमित छैन, देउवा–कोइराला समूहले भोलि मंगलबार सोही स्थानमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक समेत बोलाएको छ । बैठकमा पछिल्लो समय सरकारले गरेको नेताहरूको पक्राउ र चुनावी परिणामको समीक्षा गर्ने तयारी छ। विशेष गरी पूर्णबहादुर खड्काले आफूलाई अझै पनि ‘कार्यवाहक सभापति’ दाबी गर्दै विज्ञप्ति जारी गरेपछि संस्थापन पक्ष निकै आक्रोशित बनेको छ ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई मान्यता दिए पनि देउवा पक्षले त्यसलाई अस्वीकार गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ, जसको पेसी चैत २२ गतेका लागि तोकिएको छ ।
पार्टीभित्रको यो समानान्तर अभ्यासलाई संस्थापन पक्षले गम्भीर अनुशासन उल्लंघनको रूपमा लिएको छ । संस्थापन पक्षका नेताहरूले विधि र विधानभन्दा माथि कोही नभएको भन्दै चैत १८ गते अनुशासन समितिको आकस्मिक बैठक आह्वान गरेका छन् । उक्त बैठकमा निर्वाचनका बेला भएको अन्तर्घात र अहिले भइरहेका विधान विपरीतका गतिविधिमाथि छलफल गरी कारबाहीको प्रक्रिया अगाडि बढाइने संकेत दिइएको छ ।
यता देउवा–कोइराला पक्षले भने कारबाहीको धम्कीलाई चुनौती दिँदै चैत १९ गते प्रदेश र जिल्ला सभापतिहरूको भेला डाक्ने तयारी गरेपछि कांग्रेसभित्रको गुटगत द्वन्द्व विभाजनकै संघारमा पुगेको आभास हुन थालेको छ ।

















