Logo

१७ चैत, काठमाडौं । निर्वाचनपछिको नयाँ राजनीतिक कोर्ष निर्धारण गर्न संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ ।

राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएलगतै सचिवालयले १९ चैतमा बस्ने प्रतिनिधिसभाको पहिलो ऐतिहासिक बैठकको पूर्वसन्ध्यामा दलहरूलाई छलफलका लागि बोलाएको हो । बुधबार दिउँसो १ बजे बस्ने यो बैठकले संसद् सञ्चालनको कार्यविधि, सभामुखको निर्वाचन प्रक्रिया र शीर्ष नेताहरूको सम्बोधन लगायतका प्राविधिक एवं राजनीतिक विषयहरूमा साझा सहमति जुटाउने प्रयास गर्नेछ ।

यसपटकको संसद्को संरचना विगतको तुलनामा निकै भिन्न र रोचक देखिएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले शक्तिशाली बहुमत नजिकको उपस्थिति जनाउँदै पहिलो दलको रूपमा उदय भएको छ। दोस्रो स्थानमा खुम्चिएको नेपाली कांग्रेसको ३८ सिट र तेस्रो स्थानमा रहेको नेकपा एमालेको २५ सिट रहेको छ । त्यस्तै, १७ सिटसहित नेपाली कम्युनिष्ट पार्टी चौथो र पहिलोपटक चुनावी मैदानमा उत्रिएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौं शक्तिका रूपमा संसद् छिरेको छ ।

बैठकमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधि र स्वतन्त्र सांसद महावीर पुनको समेत सहभागिता रहने संसद् सचिवालयले जनाएको छ । प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभा बैठक सुरु हुनु ठ्याक्कै एक घण्टा अगाडि बस्ने यो सर्वदलीय परामर्शले नयाँ सांसदहरूको स्वागत र संसद्को गरिमालाई उच्च राख्दै अगाडि बढ्ने मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ । साढे दुई सयभन्दा बढी सांसदहरूको यो नयाँ टोलीले मुलुकको आगामी राजनीतिक र आर्थिक दिशा निर्देश गर्ने जिम्मेवारी बोकेको छ ।


सम्बन्धित समाचार