१७ चैत,वीरगञ्ज । समाजसेवी तेज शमशेर जबराको नेतृत्वमा वीरगञ्जमा बालेन शाह नेतृत्वको सरकारप्रति समर्थन जनाउँदै भव्य मोटरसाइकल र्याली निकालिएको छ।
विकास, सुशासन र पारदर्शिताको पक्षमा आवाज उठाउँदै सयौँ युवाहरूको सहभागितामा र्याली सम्पन्न भएको हो। र्याली पावरहाउस चोकबाट सुरु भई घण्टाघर, माइस्थान, आदर्शनगर र अलखियामठ हुँदै पुनः घण्टाघरसम्म पुगेर कोणसभामा परिणत भएको थियो।
कार्यक्रममा युवाहरू तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले वर्तमान सरकारका काम सकारात्मक रहेको भन्दै समर्थनमा नाराबाजी गरेका थिए।
कोणसभालाई सम्बोधन गर्दै जबराले सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको उल्लेख गर्दै सकारात्मक परिवर्तनका संकेत देखिन थालेको बताए। उनले राम्रो कामको खुलेर समर्थन गर्न सबैलाई आग्रह गरे।
त्यस्तै कार्यक्रमका सहजीकरणकर्ता जावेद इकबाल हैदरले युवाहरूको सक्रिय सहभागितालाई परिवर्तनको सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै विकास र समृद्धिको यात्रामा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिए।