Logo

१७ चैत,काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकबाट सभामुख चयन प्रक्रिया औपचारिक रूपमा सुरु हुने भएको छ। संसद्को पहिलो बैठक चैत १९ गते बस्ने तय गरिएको छ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेको छ। सोहीअनुसार सभामुख चयन प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।

प्रतिनिधिसभा नियमावलीअनुसार सभामुखको निर्वाचन ज्येष्ठ सदस्यले तोकेको मिति र समयमा हुनेछ। प्रस्तावक सदस्यले कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र बढीमा तीन जना सदस्यले समर्थन गर्न सक्ने प्रावधान छ।

यदि एक मात्र उम्मेदवारी परेमा प्रस्तावित सदस्य निर्विरोध निर्वाचित हुनेछन्। तर एकभन्दा बढी उम्मेदवार भएमा प्रस्ताव प्रस्तुत र समर्थनपछि संक्षिप्त छलफल गरी बहुमतका आधारमा सभामुख चयन गरिनेछ।

हालको संसदीय अंकगणितअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दलका रूपमा रहेको छ। प्रतिनिधिसभामा रास्वपाको १८२ सिट रहेको छ भने नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेकपा १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ र एक स्वतन्त्र सांसद छन्। यस आधारमा सभामुख रास्वपाबाट चयन हुने सम्भावना बलियो देखिएको छ।

रास्वपाभित्र उपसभापति डिपी अर्याललाई सभामुख बनाउने विषयमा छलफल भइरहेको बताइएको छ।

सभामुख चयनपछि उपसभामुखको निर्वाचन हुनेछ, जसको मिति सभामुखले तय गर्नेछन्। नियमअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगका हुनुपर्ने व्यवस्था छ, यद्यपि एकल उम्मेदवारी परेमा एउटै दलबाट पनि चयन हुन सक्ने प्रावधान छ।

निर्वाचित सभामुखले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ भने उपसभामुखले राष्ट्रपतिको उपस्थितिमा सभामुखसमक्ष शपथ ग्रहण गर्नेछन्।

सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्का सदस्य रहने भएकाले उपसभामुखमा कुन दलको प्रतिनिधित्व हुन्छ भन्ने विषयलाई पनि महत्वका साथ हेरिएको छ। नेपालको संविधानको धारा २८४ अनुसार उक्त परिषद्ले विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ।


सम्बन्धित समाचार