१६ चैत, काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्ट को पासपोर्ट सरकारले रोक्का गरेको छ। स्रोतका अनुसार आइतबार नै भट्टको पासपोर्ट रोक्का गरिएको हो।
इन्फिनिटी होल्डिङ्सका प्रमुख रहेका भट्टमाथि नेता तथा कर्मचारीहरूसँग मिलेर ठूला परियोजना हातमा लिने गरेको आरोप लाग्दै आएको छ। उनीमाथि सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान चलिरहेको भन्दै अध्यागमन विभागलाई कालोसूचीमा राख्न पत्राचार गरिएको थियो।
पासपोर्ट रोक्का भएसँगै अब भट्टले विदेश भ्रमण गर्नुअघि सरकारसँग अनुमति लिनुपर्ने भएको छ।
यसैबीच, नयाँ सरकार गठन भएसँगै उच्च तहका व्यक्तिहरूमाथिको अनुसन्धान तीव्र पारिएको छ। पूर्वमन्त्री दीपक खड्का लाई सोमबार सम्पत्ति शुद्धीकरणकै आरोपमा पक्राउ गरिएको छ।
त्यसैगरी, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा माथि पनि सोही कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ।
सरकारले उच्चस्तरीय भ्रष्टाचार र आर्थिक अनियमिततामाथि कडाइका साथ अघि बढ्ने संकेत दिएको छ।

















