१८ चैत, काठमाडौं । भोलिदेखि देशभरका माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षार्थीहरूका लागि एक महत्वपूर्ण घडी सुरु हुँदैछ ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षाको सम्पूर्ण तयारी पूरा भएको घोषणा गरेको छ । बिहान ठिक ८ बजेदेखि देशभरका परीक्षा केन्द्रहरूमा एकसाथ सुरु हुने यस परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदैछन्, जसमा छात्राहरूको सङ्ख्या ९२ लाख ५७ हजार ६१३० छात्रहरूको तुलनामा केही बढी देखिएको छ ।
फास्ट ट्र्याकमा नतिजा र उत्तरपुस्तिका परीक्षण हुने
यस वर्षको एसईईमा सबैभन्दा ठूलो परिवर्तन उत्तरपुस्तिका परीक्षणको विधिमा गरिएको छ। परीक्षालाई छिटो र छरितो बनाउन बोर्डले सम्बन्धित परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गरेको छ । शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशन अनुसार, परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। विगतका वर्षहरूमा असारको दोस्रो सातासम्म कुर्नुपर्ने बाध्यतालाई यसपटक अन्त्य गर्न खोजिएको छ ।
अनुगमनमा कडाइ र मर्यादित वातावरण
विद्यार्थीको एकाग्रतालाई ध्यानमा राख्दै यस वर्ष बोर्डले सामूहिक अनुगमनमा पूर्ण रोक लगाएको छ । विभिन्न सङ्घसङ्गठनका प्रतिनिधिहरू हलभित्र प्रवेश गर्दा परीक्षार्थीलाई बाधा पुग्ने गुनासो आएपछि अब जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले मात्र बाहिरी क्षेत्रबाट अनुगमन गर्न पाउनेछन् । सञ्चारकर्मीहरूका लागि पनि केन्द्रको बाहिरी दृश्य मात्र छायाङ्कन गर्न पाउने व्यवस्था गरिएको छ ।
सुरक्षा र जनशक्ति परिचालन
परीक्षालाई सुरक्षित र मर्यादित बनाउन प्रत्येक केन्द्रमा करिब १५ जना प्रहरी खटाइनेछ । त्यसैगरी, प्रत्येक २० जना परीक्षार्थी बराबर एक जना निरीक्षक र १०० जना परीक्षार्थी बराबर एक जना कार्यालय सहयोगीको व्यवस्था गरिएको छ । नेपाल बाहिर जापानमा रहेका २३ जना विद्यार्थीले पनि यस वर्ष उतैको परीक्षा केन्द्रबाट एसईई दिँदैछन् ।
यस्तो छ परीक्षा तालिका (मुख्य विषयहरू):
-
चैत १९: अनिवार्य अङ्ग्रेजी (पहिलो दिन)
-
चैत २०: अनिवार्य नेपाली
-
चैत २२: अनिवार्य गणित
-
चैत २३: विज्ञान तथा प्रविधि
-
चैत २४: सामाजिक अध्ययन
-
चैत २५-२६: ऐच्छिक विषयहरू
-
चैत २७-२९: प्राविधिक धारका विषयहरू

















