१८ चैत, काठमाडौं । गत फेब्रुअरी २८ देखि जारी विनाशकारी युद्धको अन्त्यका लागि अमेरिका र इरानबीच सघन कुटनीतिक संवाद भइरहेको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फक्स न्युजसँग कुरा गर्दै युद्ध अन्त्यको ‘फिनिस लाइन’ देखिन थालेको र दुई पक्षबीच कुनै पनि समय प्रत्यक्ष भेटवार्ता हुन सक्ने संकेत गर्नुभएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक हतियार मोहलाई रोक्ने मुख्य लक्ष्य पूरा भइसकेको दाबी गर्दै आगामी दुई देखि तीन हप्ताभित्र अमेरिका इरान युद्धबाट बाहिरिने सम्भावना व्यक्त गर्नुभएको छ । ट्रम्पले अमेरिकामा बढ्दो इन्धनको मूल्य घटाउन पनि यो युद्धबाट बाहिरिनु अनिवार्य रहेको बताउनुभएको छ।
यता इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पनि युरोपेली परिषद्का अध्यक्षसँगको कुराकानीमा युद्ध रोक्न आफूहरू तयार रहेको बताउनुभएको छ। तर, इरानले भविष्यमा पुनः आक्रमण नहुने बलियो ग्यारेन्टीलाई आफ्नो मुख्य सर्त बनाएको छ ।
अमेरिकाले यसअघि नै १५ बुँदे शान्ति प्रस्ताव अघि सारिसकेको छ, जसको जवाफमा इरानले सुरक्षाको सुनिश्चितता खोजेको देखिन्छ । वार्ता सकारात्मक दिशामा अघि बढिरहेका बेला अमेरिकी विदेशमन्त्री रुबियोले नेटो गठबन्धनको प्रभावकारितामाथि समेत प्रश्न उठाउँदै यसको पुनः मूल्याङ्कन हुनुपर्ने धारणा राख्नुभएको छ ।
एक महिनाभन्दा लामो समयदेखि जारी यस भीषण द्वन्द्वले ठूलो मानवीय क्षति निम्त्याएको छ । तथ्याङ्कअनुसार यस अवधिमा ४ हजार ५ सयभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्, जसमा सबैभन्दा बढी क्षति इरानले बेहोरेको छ ।

















