१८ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको बढी रकम खिच्न आज २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत बोलकबोल प्रक्रियाद्वारा ३९ दिनका लागि यो रकम उठाउन लागेको हो । बजारमा लगानीयोग्य रकम थुप्रिएपछि ब्याजदर र मुद्रास्फीति सन्तुलनमा राख्न राष्ट्र बैंकले यस्तो कदम चालेको देखिन्छ ।
को–को सहभागी हुन पाउने?
यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र भाग लिन पाउनेछन् । सहभागी हुन चाहने संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकम (२५ अर्ब) सम्मको बोल लगाउन सक्नेछन् । बोल लगाउँदा रकम ५ करोडले भाग जाने गरी प्रस्ताव गर्नुपर्ने सर्त राखिएको छ ।
बैंकहरूलाई थप सुविधा
बैंकहरूले राष्ट्र बैंकमा राखेको यो निक्षेपलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न पाउने सुविधा दिइएको छ । यसले गर्दा बैंकहरूको पूँजी चलायमान रहन मद्दत पुग्नेछ । यो छोटो अवधिको उपकरण भएकाले यसको सावाँ र ब्याज भुक्तानी आगामी वैशाख २७ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

















