Logo

१८ चैत, काठमाडौं । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले सेवाग्राहीलाई बिचौलियाको अनावश्यक हैरानी र आर्थिक ठगीबाट बचाउन कार्यालय परिसरभित्र अनधिकृत व्यक्तिहरूको प्रवेशमा पूर्ण रोक लगाएको छ ।

सवारीसाधनको बीमा, नवीकरण र निरोगिता प्रमाणपत्र बनाइदिने बहानामा सेवाग्राहीबाट अतिरिक्त रकम असुल्ने र काममा ढिलासुस्ती गराउने गुनासो बढेपछि कार्यालयले यस्तो कडा कदम चालेको हो । निमित्त कार्यालय प्रमुख रवीन्द्र चौधरीका अनुसार बिचौलियाका कारण सेवा प्रवाहमा अव्यवस्था सिर्जना भएको र सर्वसाधारणले अनावश्यक दुःख पाएकाले अबदेखि निषेधित क्षेत्रमा प्रवेश गरी सेवाग्राहीलाई प्रभाव पार्ने जोकोहीलाई पनि कानुनबमोजिम कारबाहीका लागि सिफारिस गरिनेछ ।

सेवालाई थप पारदर्शी, छिटो र झन्झटमुक्त बनाउने उद्देश्यले चालिएको यस कदमसँगै कार्यालयले सेवाग्राहीहरूलाई आफ्ना कामका लागि सिधै सम्बन्धित शाखा वा कर्मचारीसँग सम्पर्क गर्न विशेष आग्रह गरेको छ । कुनै पनि सरकारी सेवाका लागि तोकिएको दस्तुरबाहेक थप रकम कतै पनि नतिर्न र बिचौलियाको प्रलोभनमा नपर्न समेत सूचित गरिएको छ ।

यस नयाँ व्यवस्थाले गर्दा कार्यालयभित्रको ढिलासुस्ती अन्त्य हुने र वास्तविक सेवाग्राहीले मर्यादित वातावरणमा छिटो सेवा पाउने विश्वास कार्यालयले लिएको छ ।


सम्बन्धित समाचार