१८ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई थप आधुनिक, पारदर्शी र नागरिकमैत्री बनाउन विशेष निर्देशन दिनुभएको छ ।
बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँको स्थलगत निरीक्षणका क्रममा उहाँले प्रहरी सेवा केवल कानुनी प्रक्रियामा मात्र सीमित नभई सेवाग्राहीले प्रत्यक्ष महसुस गर्ने गरी स्वच्छ र सेवामूलक हुनुपर्नेमा जोड दिनुभयो । निरीक्षणका क्रममा मन्त्री गुरुङले परिसरबाट भइरहेका दैनिक कार्यसम्पादन, अपराध अनुसन्धानको अवस्था र आम नागरिकले पाइरहेको सेवाको गुणस्तरबारे विस्तृत जानकारी लिनुभएको थियो ।
उहाँले प्रहरी प्रशासनमा प्रविधिको उच्चतम् प्रयोग अनिवार्य रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक पर्ने स्रोत र साधनको व्यवस्थापनमा सरकारले पूर्ण प्रतिबद्धता जनाउने आश्वासन समेत दिनुभयो ।
निरीक्षणका क्रममा परिसर प्रमुख एसएसपी रमेश थापाले काठमाडौँको सुरक्षा व्यवस्था र सीसीटिभी सञ्जालबारे मन्त्री गुरुङलाई जानकारी गराउनुभएको थियो । विगतको जेनजी आन्दोलनका क्रममा भएको तोडफोडले काठमाडौँको सुरक्षा निगरानीमा केही चुनौती थपे पनि हालसम्म ९ सय ३७ वटा सीसीटिभी क्यामेराहरू पुनः जडान गरी सञ्चालनमा ल्याइएको जानकारी गराइयो ।
काठमाडौँमा रहेका कुल १३ सयभन्दा बढी सीसीटिभी क्यामेराहरूको पूर्ण क्षमतामा सञ्चालनले अपराध नियन्त्रण र सुरक्षा व्यवस्थापनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । गृहमन्त्रीको यस निर्देशन र स्थलगत अनुगमनले प्रहरी कर्मचारीहरूमा थप मनोबल बढाउने र सेवा प्रवाहमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ ।

















