१८ चैत,वीरगञ्ज । जेनजी यूथ फोर्स पर्साको जिल्ला स्तरीय बैठक मंगलबार वीरगन्जमा सम्पन्न भएको छ। बैठकले पर्सा जिल्लाका विभिन्न पालिका र वडामा भइरहेका अनियमितता र भ्रष्टाचारको पर्दाफास गरी त्यसमा संलग्न जनप्रतिनिधि र कर्मचारीलाई कानूनी कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ।
जिल्लाका हरेक पालिकामा भइरहेको चलखेल र अनियमिततालाई नजिकबाट नियाल्दै जेनजी युवाहरूले प्रमाणसहित भ्रष्ट कर्मचारी र बिचौलियालाई उजागर गर्ने र कानूनी कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने योजना रहेको जेनजी यूथ फोर्स पर्साका विशेष साहले बताए।
बैठकमा उनले भने, “अब सहने समय सकिएको छ। पालिकालाई भ्रष्टाचारको आखडामा परिणत गर्न प्रयास गर्ने हरेक व्यक्ति सार्वजनिक गरिनेछ। युवा शक्ति अब चुप लागेर बस्ने छैन। परिवर्तनका लागि अब कदम चालिन्छ।”
साथै, बैठकमा संगठनलाई थप सशक्त र प्रभावकारी बनाउने, युवा नेतृत्व विकासलाई प्राथमिकता दिने र युवाहरूको व्यापक सहभागिता सुनिश्चित गर्ने विषयमा पनि विस्तृत छलफल भएको उनले जानकारी दिए। बैठकले छिट्टै टोल, वडा, पालिका, महानगरपालिका तथा जिल्ला स्तरमा समिति गठन गर्ने निर्णय पनि गरेको जनाइएको छ।

















