Logo

१८ चैत, काठमाडौं । फागुन २१ को निर्वाचनमा व्यहोर्नुपरेको अप्रत्याशित हार र खुम्चिँदो जनमतको गम्भीर समीक्षा गर्दै नेकपा एमालेले नयाँ पुस्ता (जेनजी) को उदय र उनीहरूको बदलिँदो मनोविज्ञानलाई मुख्य चुनौतीका रूपमा स्वीकार गरेको छ ।

बुधबार बसेको पार्टी जनसंगठनको बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनमा हारका २० वटा प्रमुख बुँदाहरू समेटिएका छन्, जसमा परम्परागत राजनीतिको साटो नयाँ पुस्ताले खोजेको नतिजामुखी कार्यशैलीलाई आत्मसाथ गर्न नसक्नुलाई प्रमुख कमजोरी मानिएको छ ।

अबको युवा पुस्ताले पार्टीको गौरवशाली इतिहास वा वैचारिक निष्ठाभन्दा पनि प्रत्यक्ष सेवा प्रवाह, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिने भएकाले पुराना दलहरूले आफ्नो कार्यशैली बदल्नुपर्ने एमालेको निष्कर्ष छ ।

पार्टीको आन्तरिक प्रतिवेदन अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत बालेन शाह र हर्क साम्पाङजस्ता पात्रहरूको बढ्दो प्रभावले स्थापित राजनीतिक संरचनालाई नै हल्लाईदिएको छ। वर्षौँदेखि शासन सत्तामा रहेका दलहरूले नागरिकको दैनिक जीवनमा ठोस परिवर्तन ल्याउन नसकेपछि आजको पुस्ता नयाँ विकल्पतर्फ आकर्षित भएको एमालेको ठम्याइ छ ।

विशेषगरी विगतमा गरिएका संसद् विघटन जस्ता निर्णयहरूलाई युवाहरूले राजनीतिक स्थिरताको बाधक र व्यक्तिगत शक्ति सङ्घर्षका रूपमा बुझ्नुले पनि चुनावी नतिजामा प्रतिकुल असर पारेको प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचनमा प्रत्यक्षतर्फ केवल ९ र समानुपातिक सहित जम्मा २५ सिटमा खुम्चिनुको पछाडि पार्टीको आन्तरिक एकतामा आएको दरार र ुस्थिरता दिन सक्ने शक्तिु का रूपमा जनताको विश्वास गुम्नुलाई पनि एमालेले आत्मलोचनासहित स्वीकार गरेको छ ।

सामाजिक र प्राविधिक परिवर्तनसँगै फेरिएको मतदाताको चाहनालाई सम्बोधन गर्न नसक्दा एमाले मात्र नभई समग्र परम्परागत शक्तिहरूले नै ठूलो मूल्य चुकाउनुपरेको महासचिव पोखरेलको विश्लेषण छ । यस समीक्षाले एमालेलाई अबको दिनमा आफ्नो सांगठनिक ढाँचा र एजेन्डालाई पूर्णतः ‘अपडेट’ गर्नुपर्ने सन्देश दिएको छ ।

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)


सम्बन्धित समाचार