१८ चैत, काठमाडौं । सन् २०२६ को मार्च महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १ लाख २० हजार ५ सय १६ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा केही स्थिर देखिए पनि दक्षिण एसियाली र अन्य एसियाली मुलुकको सहभागितामा भने उल्लेख्य वृद्धि भएको छ ।
नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्यांक अनुसार कुल आगमनको करिब ३५।४ प्रतिशत हिस्सा सार्क मुलुकले ओगटेका छन्, जसमा भारतबाट सबैभन्दा बढी २५ हजार ७ सय २८ पर्यटक भित्रिएका छन् । यसैगरी श्रीलंका र बंगलादेशबाट पनि पर्यटकको आगमन उत्साहजनक देखिएको छ भने चीनबाट ११ हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । फेब्रुअरीको तुलनामा मार्चमा पर्यटकको संख्या बढे पनि कोभिड अघिको तथ्यांकलाई भने अझै भेट्टाउन सकेको छैन ।
युरोपेली र अमेरिकी बजारबाट हुने आगमनमा भने पश्चिम एसियामा जारी द्वन्द्व र त्यसले सिर्जना गरेको उडान अवरोधका कारण केही शिथिलता देखिएको छ । साहसिक पर्यटन, ट्रेकिङ र हिमाल आरोहणका लागि उपयुक्त सिजन भए तापनि अन्तर्राष्ट्रिय ‘ट्राभल एडभाइजरी’ र महँगो हवाई भाडाका कारण उच्च खर्च गर्ने पर्यटकहरूको संख्या सोचे अनुरूप बढ्न सकेको छैन। यद्यपि, छिमेकी मुलुकहरूबाट भइरहेको वृद्धिले पर्यटन क्षेत्रलाई ठूलो राहत दिएको छ ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीका अनुसार वैश्विक चुनौतीका बाबजुद पनि अहिलेको आगमन तथ्यांक निराशाजनक छैन । उहाँले युरोप र अमेरिका जस्ता परम्परागत बजारमा देखिएको मन्दीलाई पूर्ति गर्न बोर्डले वैकल्पिक बजार विस्तार र छिमेकी देशहरू लक्षित प्रवर्द्धनात्मक कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
विश्वव्यापी अस्थिरताले पर्यटन बजारमा अनिश्चितता थपे पनि नेपालले सन्तुलित र दिगो रणनीति अपनाउँदै आगामी दिनमा थप पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

















