१८ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल निर्विरोध निर्वाचित हुनुभएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकमा अर्का प्रत्यासी सुहाङ नेम्वाङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि थापा सर्वसम्मत रूपमा दलको नेता छानिनुभएको हो । यसअघि इलाम–२ बाट निर्वाचित युवा सांसद सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी प्रस्तुत गर्नुभएको थियो, जसका कारण निर्वाचन हुने सम्भावना देखिएको थियो । तर, अन्तिम समयमा नेम्वाङ पछि हटेपछि निर्वाचन समितिका संयोजक नीरज आचार्यले थापा निर्वाचित भएको घोषणा गर्नुभयो ।
भर्खरै सम्पन्न आम निर्वाचनमा जम्मा २५ सिटमा खुम्चिएको एमालेका लागि संसदीय मोर्चाको नेतृत्व चयन निकै प्रतीक्षित मानिएको थियो । अनुभवी नेता थापाले दलको नेताको जिम्मेवारी पाएसँगै अब संसद्मा एमालेको भूमिका कसरी अगाडि बढ्छ भन्ने चासो बढेको छ ।
युवा पुस्ताको प्रतिनिधित्व गर्ने नेम्वाङको दाबीले पार्टीभित्र लोकतान्त्रिक बहस सिर्जना गरे पनि अन्ततः शीर्ष नेतृत्वबीचको समझदारीमा थापाले बाजी मार्नुभएको हो । यो निर्णयसँगै एमाले अब नयाँ संसदीय रणनीतिसहित सदनमा प्रस्तुत हुने देखिएको छ ।

















