१९ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) को प्राथमिक सेयर निष्कासन (आईपी) पाइपलाइनमा विभिन्न चार क्षेत्रका चार नयाँ कम्पनीहरू थपिएका छन्, जसले पुँजी बजारमा नयाँ उत्साह थपेको छ ।
होटल तथा पर्यटन, जलविद्युत्, लगानी, र उत्पादन तथा प्रशोधन समूहका एक(एक कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्न बोर्डमा औपचारिक आवेदन दिएका हुन् । यसरी पाइपलाइनमा थपिनेमा बुढानीलकण्ठ हेरिटिज लिमिटेड, सभापोखरी हाइड्रोपावर, इष्टर्न सहारा कम्पनी र नेसनल बायोटेक लिमिटेड रहेका छन् । यी कम्पनीहरूले आ(आफ्नो व्यवसाय विस्तारका लागि बजारबाट पुँजी संकलन गर्ने लक्ष्य राखेका छन् ।
विवरण अनुसार, होटल तथा पर्यटन क्षेत्रको बुढानीलकण्ठ हेरिटिजले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४९ लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको छ, जसको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
त्यस्तै, जलविद्युत् क्षेत्रबाट सभापोखरी हाइड्रोपावरले १० लाख ७५ हजार कित्ता र लगानी क्षेत्रको इष्टर्न सहाराले २७ लाख ५० हजार कित्ता सेयर जारी गर्ने प्रक्रिया अघि बढाएका छन् ।
उत्पादन तथा प्रशोधन क्षेत्र अन्तर्गत नेसनल बायोटेकले पनि १० लाख कित्ता सेयर निष्कासनका लागि एनआईएमबी एस क्यापिटललाई बिक्री प्रबन्धक तोक्दै बोर्डको ढोका ढकढक्याएको छ । धितोपत्र बोर्डबाट अनुमति पाएलगत्तै यी कम्पनीहरूले सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्नेछन् ।
















