Logo

२० चैत, वीरगञ्ज । मुलुकको आर्थिक मेरुदण्ड मानिने वीरगञ्ज नाकाको अवस्था बुझ्न र अर्थतन्त्र सुधारका उपायहरू पहिल्याउन नवगठित सरकार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज वीरगञ्ज आउँदैछन् ।

पदभार ग्रहण गरेलगत्तै राजस्व संकलन र व्यापारिक सहजीकरणलाई प्राथमिकतामा राख्दै उनी यो भ्रमण तय गरेका थिए ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज हवाईजहाजमार्फत सिमरा विमानस्थल ओर्लिने कार्यक्रम छ । अर्थ मन्त्रालयका अनुसार मन्त्री वाग्लेले आफ्नो यस भ्रमणलाई मुख्य व्यापारिक नाकामा केन्द्रित गरेका छन् । उनले वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी), वीरगञ्ज भन्सार कार्यालय र सिर्सिया ड्राइपोर्ट (सुक्खा बन्दरगाह) को स्थलगत अनुगमन गर्नेछन् ।

अन्तराष्ट्रिय व्यापारमा देखिएका अड्चन र भन्सार प्रशासनको सेवा प्रवाहलाई कसरी चुस्त बनाउन सकिन्छ भन्ने विषयमा मन्त्री वाग्लेले विशेष चासो राखेको बुझिएको छ ।

भ्रमणका क्रममा उनले वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा आयोजित कार्यक्रममा स्थानीय उद्योगी र व्यवसायीहरूसँग प्रत्यक्ष अन्तक्र्रिया समेत गर्नेछन् । वीरगञ्जका व्यवसायीहरूले भन्सार प्रक्रियामा हुने ढिलासुस्ती, ढुवानी लागतमा भएको वृद्धि र नीतिगत अस्पष्टता जस्ता समस्याहरू मन्त्रीसमक्ष राख्ने तयारी गरेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रम दिउँसो १ बजे वाणिज्य संघको सभा हालमा तोकिएको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार यो भ्रमणको मुख्य तीन उद्देश्य छन् ः पहिलो मन्त्री वाग्लेले मुलुकको प्रमुख प्रवेशद्वारका रूपमा रहेको सीमा क्षेत्रको वास्तविक व्यापारिक अवस्थाको मसिनो गरी वस्तुगत मूल्याङ्कन गर्नुहुनेछ। दोस्रो महत्वपूर्ण उद्देश्य भनेको राजस्व संकलनको वर्तमान स्थितिको गहिरो समीक्षा गर्दै यसमा देखिएका चुनौतीहरूलाई चिरेर सुधारका नयाँ सम्भावनाहरू पहिल्याउनु रहेको छ । यसैगरी, मन्त्री वाग्लेले भ्रमणका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूसँग प्रत्यक्ष सम्वाद गरी उनीहरूले भोगिरहेका समस्याहरूको पहिचान गर्ने र ती समस्यालाई समाधान गर्दै मुलुकमा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक ठोस कदम चाल्ने लक्ष्य राखेका छन् ।

मन्त्री वाग्लेले आफ्नो भ्रमणका क्रममा राजस्व वृद्धि र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारको आगामी ठोस योजनाबारे पनि धारणा राख्ने भएका छन् । अर्थशास्त्री समेत रहेका डा. वाग्लेको यो सक्रियतालाई वीरगञ्जका सरोकारवालाहरूले आर्थिक सुधारको सकारात्मक संकेतका रूपमा हेरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै