२० चैत, काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि तोकिएको मनोनयन दर्ताको समयसीमाभित्र अर्यालको मात्र एकल उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् । संसदमा १८२ सिटसहित दुई तिहाइ बहुमतको नजिक रहेको रास्वपाको बलियो अंकगणितका सामु प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलहरूले उम्मेदवारी नदिएपछि अर्यालका लागि बाटो खुला भएको हो ।
एमालेले अन्तिम समयसम्म उपाध्यक्ष गुरु बराललाई अघि सार्ने तयारी गरे पनि विपक्षी दलहरूबीच साझा सहमति नजुट्ने देखेपछि उम्मेदवारी दर्ता गराएन । अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने आगामी आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा गरिनेछ ।
सभामुख चयनको प्रक्रिया टुङ्गिएसँगै अब सबैको ध्यान उपसभामुखको निर्वाचनतर्फ मोडिएको छ । संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था भए तापनि एकल उम्मेदवारी परेको अवस्थामा एउटै दलको पनि हुन सक्ने कानुनी छिद्र रहेको संसद् सचिवालयले जनाएको छ ।
यद्यपि, सत्ता साझेदार दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुख पदमा आफ्नो बलियो दाबी प्रस्तुत गरिसकेको छ। संवैधानिक परिषद्को सदस्य समेत रहने भएकाले उपसभामुख पद राजनीतिक रूपमा निकै महत्वपूर्ण मानिन्छ, जसले प्रधानन्यायाधीशदेखि विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा निर्णायक भूमिका खेल्दछ ।
अर्यालले राष्ट्रपतिसमक्ष शपथ लिएपछि उपसभामुखको निर्वाचन मिति तोक्नेछन्, जसले सत्ता समीकरणको आगामी शक्ति सन्तुलनलाई समेत प्रस्ट पार्ने देखिन्छ ।

















