२० चैत, काठमाडौं । मुलुकको संसदीय इतिहासमा नयाँ शक्तिको उदयसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डोलप्रसाद (डीपी) अर्यालले आइतबारदेखि औपचारिक रूपमा प्रतिनिधि सभाको कमान्ड सम्हाल्ने भएका छन् ।
शुक्रबार भएको मनोनयन दर्तामा अर्यालको मात्र एकल उम्मेदवारी परेपछि उनी निर्विरोध सभामुख चयन भएका हुन् । १८२ सांसदसहित संसद्मा झण्डै दुई तिहाइको अंकगणित बोकेको रास्वपाको दबदबाका सामु प्रमुख प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले मैदान छोडेपछि अर्यालको बाटो निष्कन्टक बनेको हो ।
आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उनलाई विधिवत् रूपमा सभामुख घोषणा गर्नेछ भने सोही दिन दिउँसो ३ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।
एकातिर संसद्ले नयाँ नेतृत्व पाउँदै गर्दा अर्कोतिर न्यायालयले शैक्षिक अराजकतामाथि कडा लगाम लगाएको छ । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु हुनुअगावै गरिने भर्ना र प्रवेश परीक्षाका नाममा हुने व्यापारिक गतिविधि रोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
यसले विद्यालयहरूको मनपरीमा अंकुश लगाउँदै अभिभावकलाई राहत दिएको छ । यता, नेकपा एमालेभित्र भने आन्तरिक कलह झन् बल्झिएको छस कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ ले निर्वाचन परिणामलाई लिएर दिएको विवादास्पद अभिव्यक्तिले सचिवालय बैठकमा निकै गर्मागर्मी सिर्जना गरेको छ ।

















