२० चैत, चितवन । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र भूमि तथा सहकारी मन्त्री विनु रायमाझीले भरतपुर महानगरपालिका–११ स्थित गणेशस्थानमा रहेको गणेशधाम धार्मिक क्षेत्रको अवलोकन गरेका छन्। अवलोकनका क्रममा उनीहरूले पूजा–आराधना गरी प्रसाद ग्रहण गरेका थिए।
गणेशधाम संरक्षण तथा संवर्द्धन समितिले करिब २।४३ हेक्टर जमिन धार्मिक वनका रूपमा स्वीकृति पाएको छ। सो क्षेत्रभित्र करिब २२ बिघा जमिनमा फैलिने ताल निर्माणका लागि पुण्यवती खोलामा ड्याम निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको समितिका अध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिए। उनले उक्त आयोजनाको प्रगतिबारे मुख्यमन्त्री र मन्त्रीलाई जानकारी गराएका थिए।
अध्यक्ष चुकेका अनुसार भरतपुर महानगरभित्र एकै स्थानमा यति धेरै धार्मिक मठ–मन्दिर, चौतारा, ऐतिहासिक इनार र खोलासहितको धार्मिक संरचना अन्यत्र दुर्लभ छ। यहाँ दैनिक रूपमा पूजा–आराधना तथा घुमफिरका लागि आउने श्रद्धालु र पर्यटकको संख्या निरन्तर बढ्दै गएको उनले बताए।
अवलोकनपछि मुख्यमन्त्री बानियाँले विगतमा गणेशधामको विकासमा प्रदेश सरकारबाट सहयोग गरिएको स्मरण गर्दै आगामी दिनमा पनि गुरुयोजनाअनुसार यसको धार्मिक तथा पर्यटकीय विकासमा सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।
त्यस्तै, मन्त्री रायमाझीले धार्मिक संरचनाको संरक्षण, व्यवस्थापन तथा पर्यटनसँग जोड्ने पहल सकारात्मक भएको उल्लेख गर्दै यसलाई थप व्यवस्थित बनाउन आवश्यक सहयोग गर्ने धारणा राखिन्।
समिति, स्थानीय तह र प्रदेश सरकारको सहकार्यमा गणेशधामलाई आगामी दिनमा अझ व्यवस्थित, आकर्षक र दीगो धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।


















