२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफूलाई पार्टी सभापति गगन थापाको ससुरा भएको आधारमा अवसर पाएको भन्ने टिप्पणीप्रति प्रतिक्रिया दिँदै त्यसले आफूलाई कुनै असर नपर्ने बताएका छन्।
हालै समानुपातिकतर्फ सांसद बनेको विषयलाई लिएर उठेका टिकाटिप्पणीप्रति संकेत गर्दै उनले आफ्नो राजनीतिक जीवन र योगदानलाई नजरअन्दाज गरेर पारिवारिक सम्बन्धमा सीमित गर्नु गलत भएको बताए।
‘न्युज एजेन्सी नेपाल’सँग कुरा गर्दै केसीले २०१७ साल पुस १ गते राजा महेन्द्रको कदमविरुद्ध पर्चा बाँड्दै गर्दा जेल परेको स्मरण गर्दै आफ्नो छुट्टै राजनीतिक पहिचान रहेको दाबी गरे। उनले आफ्नो विगत र योगदानबारे थाहा नभएकाहरूलाई जवाफ दिइरहन आवश्यक नरहेको पनि बताए।
उनले भने, “गगन थापाको ससुरा भनेर मात्रै चिन्नेहरूलाई के जवाफ दिइरहने? बरु देशले विश्वास गरेको ज्वाइँसँग मेरो नाम जोडिदिनुभएकोमा धन्यवाद दिन्छु।”
केसीले आफ्नो नाम सभापति थापासँग जोडेर गरिने आलोचना योजनाबद्ध षड्यन्त्र भएको आरोप लगाए। कांग्रेसभित्रैबाट पनि आफ्नो पहिचान सीमित गर्ने प्रयास भइरहेको भन्दै उनले असन्तुष्टि जनाए।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेतृ शैलजा आचार्य र सुशील कोइरालाको उदाहरण दिँदै उनले पार्टीमा भूमिका पाउन योगदान नै मुख्य आधार हुने बताए। पारिवारिक सम्बन्धलाई मात्र आधार बनाएर आलोचना गर्नु उपयुक्त नभएको उनको भनाइ छ।
केसीले आफू रुपान्तरण र पुस्तान्तरणको पक्षमा उभिएको दाबी गर्दै कांग्रेस बदलिएको हेर्न नचाहनेहरूले आफूमार्फत् सभापति थापामाथि प्रहार गर्न खोजेको आरोप पनि लगाए।

















