२१ चैत,वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले शनिबार आयोजना गर्न लागेको हनुमान जयन्ती शोभा यात्रालाई लक्षित गर्दै सुरक्षा निकायले उच्च सतर्कता अपनाएको छ। विगतका वर्षहरूमा छपकैया क्षेत्रसहितका स्थानमा सम्भावित तनाव र झडप हुने अनुभवलाई ध्यानमा राख्दै यस वर्ष सुरक्षा व्यवस्थालाई अभूतपूर्व रूपमा कडा पारिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (SP) सुदीपराज पाठकका अनुसार, शोभा यात्राको संवेदनशीलतालाई ध्यानमा राख्दै गृह मन्त्रालयले पर्सामा विशेष टोली खटाएको छ। उक्त टोलीले सामाजिक सञ्जालदेखि ‘ग्राउन्ड’सम्म सूक्ष्म निगरानी गरिरहेको छ।
सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विशेष टोलीसमेत तैनाथ गरिएको छ। SP पाठकले जानकारी दिए, “संभवित घटनाहरू रोक्न १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। सानाभन्दा साना गतिविधिलाई निगरानी गर्न ड्रोन लगायत आधुनिक उपकरण प्रयोगमा ल्याइएको छ। सादा पोसाकमा समेत ठूलो संख्यामा प्रहरी खटाइएको छ।”
उहाँले चेतावनी दिनुभयो, “धार्मिक सद्भाव बिगार्ने वा अन्य समुदायमाथि दुर्व्यवहार गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइनेछ। समाजमा अराजकता फैलाउनेलाई हामीले दायाँ-बायाँ नसोची कडा कानुनी फन्दामा ल्याउनेछौँ।”
शनिबार दिउँसो २ बजे घण्टाघरबाट सुरु हुने शोभा यात्रामा पहिलो पटक नवनिर्वाचित सांसदहरू हरि पन्त (क्षेत्र नं १) र सुशील साह कानु (क्षेत्र नं २) समेत सहभागी हुने सचिवालयले जनाएको छ।
जिल्लाको सुरक्षा संयन्त्रले सामाजिक सञ्जालमा भ्रामक पोस्ट गर्ने र साम्प्रदायिक विद्वेष फैलाउने तत्वहरूमाथि पनि कडा निगरानी राखेको जनाएको छ।

















