२१ चैत,काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) बीच आज भेटवार्ता भएको छ। शाहीले भेटवार्तापछि जानकारी दिँदै भने कि उनीहरू एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका छन्।
शाहीले भने, “विगतका दुःखहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका छौँ।”
शुक्रबार प्रतिनिधि सभाको सभामुखमा रास्वपाका उपसभापति डीपी अर्याल निर्विरोध भएका छन्। औपचारिक घोषणा भने आइतबार संसद् बैठकबाट हुनेछ। उपसभामुखमा राप्रपा, श्रम संस्कृति पार्टी, नेकपा र कांग्रेसले दाबी गरेका छन्।
संसद् अधिवेशनको पहिलो दिन अन्य दलहरू रास्वपाप्रति आक्रमक देखिएका थिए। त्यस्तै, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन नगरी वर्षमान पुनलाई सम्बोधन दिने दृष्टान्त देखियो।
स्रोतका अनुसार, लामिछाने र शाहीबीच उपसभामुख पदबारे छलफल भएको बताइएको छ। संवैधानिक प्रावधान अनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्छ। राप्रपामा खुस्बु ओली र सरस्वती लामा महिला सांसद छन्, जसले यस कानुनी व्यवस्थामा भूमिका खेल्न सक्ने स्रोतको भनाइ छ।

















