२१ चैत, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा इरानको प्रहार भएको ड्रोन अवरोध गर्दा खस्दा घाइते भएका सात नेपालीको अवस्था सामान्य रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, घाइते सातै नेपालीसँग यूएईस्थित नेपाली दूतावासका कर्मचारीले सम्पर्क गरी उनीहरूको अवस्था बुझिसकेका छन्। ‘एक जनाको हातमा चोट लागेको थियो, तर सबै खतरामुक्त छन्,’ उनले बताए।
उनका अनुसार, दुई जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने बाँकी पाँच जनाको उपचार जारी छ। दूतावासले उनीहरूलाई आवश्यक सहयोगको लागि पनि परिचालित भएको छ।
घटना शुक्रबार अबुधाबीको अजबान क्षेत्रमा घटेको थियो। इरानले प्रहार गरेको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले अवरोध गरेपछि ड्रोनका भग्नावशेष खसेका थिए। यस क्रममा ७ जना नेपालीसहित १२ जना घाइते भएका थिए। घाइतेमध्ये ५ जना भारतीय नागरिक पनि थिए।
यूएईको सरकारी सञ्चारमाध्यमले यस विषयमा जानकारी दिँदै नेपाली दूतावासले तत्काल चासो लिएर घाइतेहरूको अवस्थाबारे विवरण संकलन गरेको हो।

















