२२ चैत, काठमाडौं । मुलुकको संसदीय इतिहासमा नयाँ अध्याय थप्दै प्रतिनिधिसभाको सभामुख पदमा डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेसँगै संसद्ले नयाँ नेतृत्व पाएको हो । गत शुक्रबार मनोनयन दर्ताको समयमा अर्यालको मात्र एकल उम्मेदवारी परेपछि उनी निर्विरोध हुने निश्चित भइसकेको थियो, जसलाई आजको बैठकले संवैधानिक प्रक्रिया पूरा गर्दै वैधानिकता दिएको छ ।
सदनको यो निर्वाचन परिणामले वर्तमान राजनीतिक समीकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को बढ्दो प्रभाव र अन्य दलहरूबीचको सहमतिको नयाँ आयामलाई उजागर गरेको छ । संसदमा झन्डै दुई तिहाइको बलियो उपस्थितिसहित रास्वपाका उम्मेदवार अर्यालले अन्य राजनीतिक दलहरूको समेत मौन समर्थन प्राप्त गर्दा प्रतिस्पर्धा शून्य हुन पुगेको थियो । बैठकमा ज्येष्ठ सदस्य केसीले संसद्को नियमावली बमोजिम एकल उम्मेदवारी परेकै आधारमा अर्याललाई विजयी घोषित गर्दा सदनमा उत्साहजनक वातावरण देखिएको थियो ।
सभामुख जस्तो गरिमामय पदमा अर्यालको चयन हुनुलाई संसदीय राजनीतिमा एउटा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ । विशेष गरी संसद्मा संख्यात्मक रूपमा हावी देखिएको नयाँ शक्तिको प्रतिनिधित्वले अबका दिनमा सदनको कार्यसञ्चालन र कानुन निर्माण प्रक्रियामा कस्तो प्रभाव पार्छ भन्ने चासो सर्वत्र बढेको छ ।
निर्विरोध निर्वाचित भएपछि सभामुख अर्यालले अब दलगत राजनीतिभन्दा माथि उठेर तटस्थ भूमिकामा संसद्को गरिमालाई उच्च राख्नुपर्ने चुनौती र जिम्मेवारी दुवैलाई एकसाथ सम्हाल्नुपर्नेछ ।

















