Logo

२२ चैत,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सा ले जिल्लाभित्रका सबै सरकारी कार्यालयहरूलाई बिचौलिया मुक्त सेवा सुनिश्चित गर्न कडा निर्देशन जारी गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत प्रशासनले सेवा प्रवाहलाई छिटो, सरल, सहज र पारदर्शी बनाउन सबै निकायलाई औपचारिक आग्रह गरेको हो।

प्रशासकीय अधिकृत रेखा कुमारीका अनुसार प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएका सेवाहरू हाल नियमित र सहज रूपमा सञ्चालन भइरहेका छन्। उनले कार्यालय परिसरभित्र मात्र होइन, वरपर समेत बिचौलियाको गतिविधि देखिए तत्काल कडा कारबाही गरिने चेतावनी दिएकी छन्।

कार्यालय प्रमुख कुमारीले बिचौलियाले सेवाग्राहीलाई सहयोग र सहजीकरणको नाममा गैरकानुनी रूपमा रकम असुल्ने कार्य नियन्त्रण गर्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारिन्।

विज्ञप्तिमा भनिएको छ, “यस कार्यालय तथा जिल्लास्थित कुनै पनि कार्यालय वरिपरि सेवाग्राहीसँग सहयोग वा सहजीकरणको नाममा गैरकानुनी रूपमा रकम असुल्ने जो कोहीलाई कानुनबमोजिम कडा कारबाही गरिनेछ।”

प्रशासनको यो कदमले जिल्लामा सरकारी सेवामा देखिएको बिचौलियाको प्रवृत्ति अन्त्य हुने र सेवाग्राहीले प्रत्यक्ष, सरल तथा प्रभावकारी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार