२२ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले आफ्नो कानुनी टिमलाई पूर्णता दिने क्रममा डा. नारायण कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अनुभवी कानुनविद् डा। कँडेललाई सरकारको मुख्य कानुनी सल्लाहकारको जिम्मेवारी सुम्पने औपचारिक निर्णय गरेको हो । मुलुकको पछिल्लो राजनीतिक र कानुनी जटिलताहरूका बीच सरकारले एक बौद्धिक र निष्पक्ष छवि भएका व्यक्तित्वलाई यो गरिमामय पदमा चयन गरेको छ ।
महान्यायाधिवक्ताको रूपमा डा. कँडेलले अब नेपाल सरकारको तर्फबाट गरिने सबै मुद्दाको बहस पैरवी र फौजदारी मुद्दाहरूको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्नेछन् । विशेष गरी सरकारले अघि सारेको भ्रष्टाचार नियन्त्रण र सुशासनको कार्यसूचीलाई कानुनी रूपमा सफल बनाउन उनको भूमिका निकै महत्वपूर्ण हुने देखिएको छ ।
सरकारवादी हुने सबै मुद्दामा अन्तिम निर्णय लिने र राज्यलाई आवश्यक पर्ने जटिल कानुनी राय सल्लाह प्रदान गर्ने संवैधानिक दायित्व अब डा. कँडेलको काँधमा आइपुगेको छ ।
नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेलको आगमनसँगै न्याय सम्पादनको प्रक्रिया थप चुस्त र पारदर्शी हुने अपेक्षा गरिएको छ ।

















