Logo

२३ चैत, काठमाडौं । जेन–जी आन्दोलन र प्राकृतिक विपत्तिका कारण लामो समयदेखि बन्धक बनेको बागमती प्रदेशसभा अन्ततः आठ महिनापछि पुनः सञ्चालनमा आउने भएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सोमबार चैत २४ गते दिउँसो ४ बजेका लागि हिउँदे अधिवेशन आह्वान गरेका हुन् । गत साउन २७ गते बसेको अन्तिम बैठकपछि प्रदेशसभाका गतिविधिहरू पूर्णतः ठप्प थिए भने मंसिर ३ मा वर्षे अधिवेशन अन्त्य भएदेखि प्रदेशको विधायीकी कार्यमा शून्यता छाएको थियो ।

विशेषगरी जेन–जी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय र सभा हलसहितका भौतिक संरचनाहरू आगजनीबाट क्षतिग्रस्त भएपछि बैठक सञ्चालनमा ठूलो अन्योल पैदा भएको थियो ।

यही राजनीतिक अस्थिरताका बीच तत्कालीन सभामुख भुवनकुमार पाठकले असोज १ गते नै आफ्नो पदबाट राजीनामा दिएका थिए, जसको औपचारिक जानकारी उपसभामुख अप्सरा चापागाईंले संसद् अन्त्य हुनुअघि नै गराइसकेकी थिइन् ।

लामो समयको ग्याप र सभामुखविहीन अवस्थामा सुरु हुन लागेको यो अधिवेशनले प्रदेशका रोकिएका विधेयक र समसामयिक राजनीतिक मुद्दाहरूलाई कसरी अगाडि बढाउँछ भन्ने विषयलाई निकै महत्त्वका साथ हेरिएको छ ।


सम्बन्धित समाचार