२३ चैत,काठमाडौं । राप्रपा सांसद खुस्बु ओलीले सरकारले विदेशी ऋण लिने निर्णयप्रति आपत्ति जनाएकी छन्। उनले प्रतिनिधि सभाको बैठकमा सरकारलाई सोधिन् कि कुन नीतिगत बहसका आधारमा ऋण लिइएको हो।
सांसद ओलीले भनिन्, “हाम्रो संसद् अझै शिशु अवस्थामा छ। संसदीय समिति र उपसमितिहरू बनेका छैनन्। यस्तो अवस्थामा सरकारले गरेको निर्णय पारदर्शी नहुने सम्भावना छ। उक्त ऋण हामीले माग गरेको थियौँ कि प्रस्ताव आएको थियो ? यसको जवाफ सरकारले संसद्मा देओस्।”
साथै उनले बजेट वितरणमा एकरूपता ल्याउन सरकारको ध्यानाकर्षण गराइन्। उनले मध्यपूर्वमा जारी तनावको प्रभावले जनताको भान्छामा असर पुगेको उल्लेख गर्दै, पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर भए पनि जनतालाई सहुलियत दिन सरकारसँग आग्रह गरिन्।

















