२४ चैत, काठमाडौं । निर्वाचनपछिको नयाँ राजनीतिक कोर्षसँगै नेपाली कांग्रेसभित्र संसदीय दलको नेता चयनका लागि आन्तरिक रस्साकस्सी तीव्र बनेको छ ।
३८ सदस्यीय संसदीय दलमा आफ्नो पकड जमाउन संस्थापन र संस्थापनइतर पक्षबीच शक्ति सङ्घर्ष चलिरहँदा शीर्ष नेतृत्व भने सम्भावित चुनावी मुठभेडलाई टार्दै सहमतिमा नेता छान्ने कसरतमा जुटेको छ । यसपटक दलको नेताका लागि पार्टीका दुई पाका अनुहार अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेको नाम अग्रपंक्तिमा देखिएको छ ।
पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन सभापति, उपसभापति र महामन्त्रीहरूसहितको शीर्ष संयन्त्रले सोमबार घनीभूत छलफल गरेको छ । विशेषगरी संस्थापन पक्षको झुकाव केसीतर्फ र इतर पक्षको भरोसा आङ्देम्बेमाथि देखिए पनि दुवै पक्षलाई मान्य हुने साझा विन्दुको खोजी भइरहेको छ ।
यद्यपि, कांग्रेसको संसदीय इतिहासमा २०६४ सालयता दलको नेता सर्वसम्मत हुन नसकेको नजिर र वर्तमान गुटगत समीकरणका कारण अन्तिममा मतदानकै प्रक्रियामा जानुपर्ने परिस्थिति सिर्जना हुने विश्लेषण पार्टीवृत्तमा गरिएको छ ।
यसपटकको संसदीय दलको गणित निकै रोचक र पेचिलो छ । १८ प्रत्यक्ष र २० समानुपातिक सांसद रहेको कांग्रेसमा टिकट वितरणका बेला सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवा दुवैको हस्ताक्षर प्रयोग हुनुले पनि सांसदहरूमा स्पष्ट विभाजन देखिएको छ । प्रत्यक्षतर्फ संस्थापन पक्षको वर्चश्व रहे पनि समानुपातिकतर्फ इतर पक्ष बलियो देखिएकाले दुवै पक्षले आ–आफ्नो समूहबाट बहुमत पुर्याउने दाबी गरिरहेका छन् ।
हालको तथ्याङ्कअनुसार संस्थापन पक्षसँग १६ र इतर पक्षसँग २२ सांसदको साथ रहेको आंकलन गरिए पनि आन्तरिक ध्रुवीकरणका कारण केही सांसदहरूले कित्ता परिवर्तन गर्न सक्ने सम्भावना पनि उत्तिकै छ ।
निर्वाचनको औपचारिक प्रक्रिया अघि बढाउन सहमहामन्त्री प्रकाश स्नेही ‘रसाइली’ को संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको सूचना बाहिरिए पनि पार्टीले यसलाई अझै गोप्य राखेको छ । एकातिर मोहन आचार्य, भरतबहादुर खड्का र निश्कल राई जस्ता प्रत्यक्ष निर्वाचित सांसदहरूको समेत दलको नेतामा दाबेदारी सुनिन थालेको छ भने अर्कोतिर शीर्ष नेताहरू गुटगत भागबण्डा मिलाएर बाहिर राम्रो सन्देश दिन चाहन्छन् ।

















